इलामः विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी टोली दाफिन्स फेमेली क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दाफिन्सले पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा टीना टीनाको गोलबाट दाफिन्सले शुरुवाती अग्रता लिएको थियो । पुलिसका अञ्जन राईले पेटाङ्गालाई ३० यार्ड बक्स नजिकै फाउल गरेपछि पाएको अवसर गोलमा परिणत भएको थियो । आन्द्रे एक्वेमको फ्रिकिक प्रहारलाई टिनाले हेडर गोल गरेका थिए । पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफमा दाफिन्सले पुनः गोल थप्यो । खेलको ७१ औँ मिनेटमा पुलिसका भरत शाहले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियाबाट आन्डा इसाइले अग्रता दोब्बर बनाए ।
खेलको पहिलो हाफमा नेपाल पुलिसलाई दाफिन्सले दबाबमा राखेका थिए । १५ औँ मिनेटमा टिनाको क्रसलाई डिएरियाभित्रबाट आन्डाले गरेको प्रहार अकासिएको थियो । पुलिसका निरकुमार राई २३ आँै मिनेटमा ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्नबाट चुके ।
दोस्रो हाफमा सम्हालिएर खेलेको पुलिसले गोलका अवसर सिर्जना गर्न सकेन । ४८ आँै मिनेटमा पुलिसका गोलरक्षक रोशन खड्काको हातबाट फुत्किएको बललाई दाफिन्सका खेलाडीले गोल गर्न सकेनन् । ५१ आँै मिनेटमा पुलिसका सन्तोष हेमरनको हेडरबल दाफिन्सका गोलरक्षक प्रिसो जाङगाले बचाएका थिए । इन्जुरी समयमा मनोज राईले पेनाल्टी एरियामा दिएको क्रसलाई सौजन याक्खाले प्रहार गर्न नसक्दा अग्रता कम गर्र्ने मौका पुलिसले गुमाएको थियो ।
खेलमा पुलिसका मानबहादुर परियार र तीर्थ राना मगरले पहेँलो कार्ड पाएका थिए भने दाफिन्सका यान्निक ओवाना र सिलो नाङ्गाले समेत पहँेलो कार्ड पाए । यसअघि एपीएफ विरुद्धको खेलमा पहेँलो कार्ड पाएका सिलोले आगामी चैत ५ गते हुने फाइनल गुमाउनेछन् ।
खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेफ्रीले पक्षपात निर्णय गरेका कारण पराजित भएको बताए । उनले ३० यार्ड बक्स नजिकै नभएको फाउल दिनु नै खेलको ट्रनिङ प्वाइन्ट भएको बताए ।
‘शारीरिक रूपमा बलिया खेलाडी विरुद्ध कडा प्रतिस्पर्धा भएको हो । रेफ्री श्याम दनुवारले बारम्बार गलत निर्णय दिँदा हामी पराजित भयौँ,’ उनले भने, ‘पेनाल्टी एरियामा निरकुमार राईले पाएको अवसर सदुपयोग हुन सकेको भए हामीले खेल जित्ने थियौँ ।’
यता, दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले पुलिसको टिम सेट भए पनि आफ्नो टिमले अपेक्षा अनुरूपको नतिजा निकालेको बताए ।
उनले इलाममा अघिल्लो खेलभन्दा पुलिस विरुद्ध दाफिन्सले सुधारिएको खेल देखाएको बताए । समयमा नै गोल निस्किएकाले पुलिसविरुद्ध पछिल्लो नतिजा भन्दा राम्रो जीत निकालेको मगरले बताए । दोस्रो सेमीफाइनल खेल हिमालयन शेर्पा र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको विजेतासँग दाफिन्सले चैत ५ गते उपाधी भिडन्त गर्नेछ । फाइनल प्रवेश गरेको दाफिन्सले कम्तीमा ४ लाख रुपैयाँ सुरक्षित गरेको छ ।
जारी सिजनमा पुलिस क्लब दाफिन्ससँग चौथो पटक पराजित बनेको हो । यसअघि २१ औँ तिलोत्तमा गोल्डकपको फाइनलमा हारेको पुलिस १७ औँ आहा राराको क्वाटरफाइनल र २१ औ बुढासुब्बाको सेमीफाइनलमा पराजित भएको थियो ।
माई भ्याली गोल्डकपसहित दाफिन्स नेपाली फुटबलमा सहभागी ८ मध्ये ४ प्रतियोगिताको फाइनलमा पुगेको छ । दाफिन्सले फाइनल पुगेको सबै प्रतियोगिताका उपाधी जितेको थियो । खेल अवधिभर दाफिन्सले पुलिसको तुलनामा नेपाली समर्थकको भरपुर साथ पाएको थियो ।
२०७१ सालबाट आयोजना शुरु गरिएको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।