धरानः धरानका २ जना बास्केटबल खेलाडीले बास्केटबलको क्रेजलाई ध्यानमा राख्दै धरान अनलाइन स्पोर्ट्स कलेक्सन शुरु गरेका छन् ।
अब उक्त कलेक्सनबाट बास्केटबल खेलका सामग्री अनलाइनमार्फत् खरीद गर्न सकिने छ । पहिलो चरणमा १ नम्बर प्रदेशभर अनलाइन डेलिभरी गर्ने योजना रहेको बास्केटबलका १ नम्बर प्रदेशका टिम क्याप्टेन समेत रहेका नवीन राईले बताए ।
‘हामीले अहिले ब्राण्डेड सामग्रीहरुमात्र बिक्री गरिरहेका छौँ’, उनले भने । सो पसल बास्केटबलका क्याप्टेन नवीन राई र जोन राईले संयुक्त रूपमा खोलेका हुन् ।
अनलाइन पसलको आइतबार नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, पूर्वाञ्चल बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र एमएच होटल एण्ड लजका सञ्चालक तथा बगरकोट व्यवसायी मञ्चका सदस्य जीवन लिम्बूले संयुक्त रूपमा जुत्ता खरीद तथा प्रदर्शन गरेर उद्घाटन गरेका थिए ।
सुरज लामा र जीवन लिम्बूले एनबिएमा सेल्टिक्स बोस्टनबाट खेल्ने चर्चित खेलाडी कायरी अर्विन र प्रशिक्षक चाम्लिङले बास्केटबल खेलाडी माइकल जोर्डनको ए सिरिज जुत्ता खरीद गरेका थिए ।
सो पसलमा बास्केटबलका ब्रान्डेड जुत्ता, जर्सी लगायतका सामग्री उपलब्ध हुनेछन् । धरान अनलाइन स्पोर्टस कलेक्सन नामको फेसबुक पेज सञ्चालन गरिएको र ग्राहकहरूले अनलाइनमा हेरेर समान अर्डर गर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।