इलामः पाँचौँ संस्करणको माइभ्याली गोल्डकपको उपाधीका लागि हिमालयन शेर्पा र क्यामरुनी टोली दाफिन्स आज भिड्दैछन् । माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागी यी टिम फाइनल पुगेका हुन् ।
प्रि म्याच कन्फ्रेन्समा हिजो बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधी आफ्नो पक्षमा पर्ने दाबी गरेका छन् । दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले खेलमा हारजीतको स्थिति बराबर देखिए पनि फिजिकल र स्टामिनाले आफनो टिम हाबी हुने बताए । यसअघिको खेलमा मिडफिल्ड लाइन कमजोर देखिए पनि फाइनल खेलमा जीतका लागि आक्रामक शैलीमा टिम उत्रने उनले बताए ।
‘झापाको स्तरीय मैदानमा खेल प्रदर्शनपछि इलाम आएको टिमले त्यस्तै मैदानको अपेक्षा गरेको थियो । सानो मैदानमा भएका कारण केही असहज भयो,’ उनले भने, ‘शुरुवातमा नेपालको खेल नबुझ्दा आफ्नै शैलीमा खेलेका थिए । पछि नेपालमा कसरी खेल्ने भन्ने बुझेपछि अहिले सहज भयो ।’
हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिट उच्च भएकाले जीत निस्कने बताए । टिमले पुरानै रणनीतिमा खेल्ने भए पनि मनोबल उच्च भएकाले बलियो दाफिन्सलाई दबाब सिर्जना गर्ने उनले बताए ।
‘नयाँ रणनीति छैन । थ्रीस्टारविरुद्ध देखाएको प्रदर्शन फेरि दोहो¥याउने लक्ष्य हो,’ उनले भने, ‘सोचे अनुसारको खेल मैदान नहुँदा खेल्न कठिन भए पनि दाफिन्सको कमजोरीको फाइदा उठाउँदै स्कोर निकाल्छाँै ।’
दाफिन्स र हिमालयन शेर्पा पहिलो पटक भिड्न लागेका हुन् । माइभ्याली गोल्डकपको लागि दुवै टोलीले यो संस्करणमा मात्र भाग लिएका हुन् । माइभ्याली गोल्डकपमा हिमालयन शेर्पाले ३ खेलमा ११ गोल गर्दै २ गोल मात्र बेहोरेको छ । दाफिन्सले भने आफ्नो २ खेलमा ५ गोल गरेको छ भने १ गोल मात्र बेहोरेको छ ।
नेपाली फुटबल प्रतियोगिताको नवप्रवेशी दाफिन्सले २ महिनाको अवधीमा ८ प्रतियोगितामा सहभागिता जनाउँदै ३ वटा उपाधी जितेको छ । दाफिन्सले पोखरा कप, २१ औँ बुढासुब्बा गोल्डकप र २१ औ तिलोत्तमा गोल्डकपको उपाधी जितेको छ । दाफिन्स चौथो उपाधीको लागि इलामको मैदानमा उत्रने छ ।
दाफिन्सका टिम मेनजेर थापा मगर कप उठाउने दुवै टोलीको सम्भाव्यता बराबर रहेको बताउँछन । दाफिन्सका सिलो नाङ्गाले फाइनल खेल गुमाउनेछन् । एपीएफ र पुलिस विरुद्धको खेलमा उनले पहँेलो कार्ड पाएपछि १ खेल प्रतिबन्धमा परेका हुन् । नाङ्गाको स्थान ओको बोटाले लिने थापा मगरले बताए ।
हिमालयन शेर्पाका ड्याडी वाम्बा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर विरुद्धको सेमीफाइनलमा घाइते भई हस्पिटलाइज भएका थिए । उनी फाइनलमा उत्रने सम्भावना न्यून देखिएको छ । शहीद स्मारक लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले सिजनमा दोस्रो पटक फाइनल खेल खेल्दै छ ।
दोस्रो विशाल मेमोरियल गोल्डकपको फाइनल पुगेको शेर्पालाई त्रिभुवन आर्मीले सडन डेथमा हराउँदै उपाधी जितेको थियो । लिगमा उत्कृष्ट खेल देखाउन नसकेका च्यासलका सुनिल खड्का हिमालयन शेर्पा क्लबबाट इलाममा चम्किएका छन् । उनी ३ खेलमा एक ह्याट्रिकसहित ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् । अघिल्ला संस्करणको माइभ्याली गोल्डकपको अनुभव बटुलेका निरज बस्नेत, गोलरक्षक किशोर गिरीसहित शेर्पा मैदानमा उत्रनेछन् ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कार भएको प्रतियोगिता हो ।