विराटनगरः नेपाली महिला फुटबल टोली फागु मनाउन विराटनगरस्थित विराटेश्वर वृदाश्रम पुगेको छ । एन्फा पदाधिकारीसहित नेपाली टिमका खेलाडीले वृदाश्रममा रहेका बुद्धबृद्धालाई फलफुल र जुस लिएर पुगेका हुन् ।
भोलिको फाइनल खेलका लागि आशीर्वाद मागेका खेलाडीले वृद्धाहरूसँगै होली मनाएका हुन् । भोलि नेपालका लागि जीत निकाल्नुपर्ने दबाबका बिच नेपाली फुटबल टोली होली पर्व मनाउन वृदाश्रम पुगेको हो । वृदाश्रममा रहेका बुवाआमासँग पालैपालो टिक र अबिर लगाएका खेलाडीले उत्साहित हुँदै आशीर्वाद मागेका थिए ।
खेलाडी सावित्री भण्डारीले वृद्धा आमालाई जुस खुवाउँदै भनिन, ‘आमा हामीलाई आशीर्वाद दिनुस् हामीले भोलि जित्नेछौँ ।’ अर्की खेलाडी अनिता बस्नेतले पनि टिका ग्रहण गर्दै जित्ने आशीर्वाद मागिन् ।
एन्फा उपाध्यक्ष पंकज नेम्वाङले नेपालीको अभिन्न अङ्गको रूपमा रहेको चाड फागुबाट घरबाहिर भएका खेलाडीलाई न्यास्रो अनुुभुती नहोस् भन्नका लागि वृद्धा बुवाआमा भएको स्थानमा ल्याएको बताए । मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीले घरेलु वातावरणको अनुुभुती गाउन र अग्रजप्रतिको सद्भाव कायम गराउन वृदाश्रम आएको बताए । नेम्वाङले वृदाश्रमका लागि नेपाली महिला फुटबल टिमको नाममा आफ्नो व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने बचन दिए ।
वृदाश्रममा सञ्चालक जगतबहादुर अर्यालले सम्पूर्ण वुवाआमाको तर्फबाट शुभकामना दिँदै नेपाली महिला फुटबल टिमले भोली इतिहास रच्ने विश्वास व्यक्त गरे ।