विराटनगरः हिजो साफ महिला च्याम्पियनसीपको पाचौं फाइनल खेल थियो विराटनगरमा । नेपाल र भारत बीच फाइनल भने चौथो पटक थियो ।
७ हजार ५ सय दर्शक अट्ने शहीद रंगशाला पूरापुर भरिएको थियो । सबै दर्शक अनि समर्थक नेपालका थिए । ३ बजेपछि शुरु खेलमा ८ किलोमिटर हाराहारीको भारतीय भूमिबाट दर्शक आएनन् । आए त नेपाली दर्शक समर्थकहरू ।
नेपाल र भारतले पहिलो हाफमा बराबरी खेले । दोस्रो हाफमा भने नेपालले कुनै गोल गरेन । भारतले लगातार २ गोल थप्यो । अनि, नेपाल ३–१ अन्तरमा खेल्न पुग्यो । यही नतिजालाई नेपालले स्वीकार गर्नुपर्याे । नेपाली महिला फुटबल टोलीले चौथो पटक पनि भारतसँगै हार्याे ।
नेपाली टोलीले हार्यो । तर, नेपाली समर्थकले हारेनन् । अन्तिम समयसम्म नेपाली टोलीको हुटिङ गरिरहे । खेल सकिएपछि अटोग्राफ लिए । नेपाली समर्थक मात्रै होइन मुख्यमन्त्री शेरधन राई र विराटनगरका मेयर भीम पराजुलीले पनि खेलाडीलाई हौसला दिइरहे । हारेको नेपाली टोलीलाई अभिवादन र बधाई दिए ।
नेपाली समर्थकले भारतीय खेलाडीलाई कुनै अपमानित शब्द प्रयोग गरेनन् । नेपालको समर्थन गरे । तर, भारतको विरोध गरेनन् ।
यस्तो लोभलाग्दो समर्थन देखेर पूर्व नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सुरेन्द्र तामाङ पनि उत्साहित देखिए । शहीद रङ्गशालामा प्रदेश पोर्टल डटकमसँग बोल्दै तामाङले भने, ‘नेपाली समर्थक अराजक भन्ने गरिन्छ । अझ, भारतसँग खेल्दा झन् उग्र । तर, आज सबै दर्शक अनुशासनमा देखिए । यसले नेपाली फुटबल समर्थकको स्तर बढाएको देखियो ।’
प्रतियोगिताको पहिलो हाफको २६ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । नेपालले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबर बनाएको थियो ।
भारतकी डिफेन्डर डालिमा छिब्बरले खेलको २६ औँ मिनेटमा फ्री किकबाट गोल गरेकी थिइन् । दाहिने बार च्याप्दै उनले गोल गरेकी हुन् ।
नेपालको तर्फबाट गोल मेसिन भनिने सावित्री भण्डारीले ३३ औं मिनेटमा हेडर बललाई गोलमा रूपान्तरण गरिन् । ९ नम्बर जर्सीकी नेपाली स्ट्राइकर भण्डारीले गीता रानाको लङ पासलाई गोलमा परिणत गरेकी हुन् ।
खेलको दोस्रो हाफको १८ औं मिनेटमा भारतकी जर्सी नम्बर ११ की खेलाडी ग्रेस डाङमेइले गोल गरी अग्रता दोब्बर पारेकी थिइन् । त्यसैगरी, जर्सी नम्बर १० की खेलाडी अञ्जु तामाङले गोल गर्दै अग्रता तेब्बर बनाएकी थिइन् ।