इटहरीः इटहरीमा जारी मेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिका र दुहबी नगरपालिका (रातो) विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा धरानले दुहबी निलोलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । धरानका मिलन राई एक्लैले ४ गोल गर्दा वर्तमान राई र बिटु तामाङले १–१ गोल गरे । दुहबीका निलोका विजय पोखरेल र भरत चौधरीले १÷१ गोल गरेका थिए । सो खेलमा धरानका लागि चार गोल गर्ने मिलन राई म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार पुरस्कार पाए ।
सोमबार नै भएको दोस्रो खेलमा इनरुवा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै दुहबी रातो सेमीफाइनल प्रवेश गरेको छ । म्यान अफ द म्याच घोषित दुहबी रातोका मनिष अधिकारीले गरेको गोल नै निर्णायक गोल बन्यो ।
मङ्गलबारको अन्तिम क्वाटरफाइनल खेल वराहक्षेत्र नगरपालिका र इटहरी नीलोबीच हुने प्रतियोगिता संयोजक केशव कार्कीले जानकारी दिए ।