इटहरीः इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा बराहक्षेत्र नगरपालिकाले इटहरी नगरपालिकाको निलो टिमलाइ पराजित गरेसंगै सेमीफाइनल समिकरण पुरा भएको हो ।

मंगलबारको खेलमा बराहक्षेत्र नगरपालिकाले इटहरी निलोलाइ पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा बराहक्षेत्रको तर्फबाट रोशन भुजेल, अनिल धामी, निशान लिम्बु र बिष्णु पराजूलीले गोल गरे ।

रबिन खड्काको प्रहार बाहिरिएको थियो । यस्तै इटहरीको तर्फबाट एलोन राइ, निकेश तामांग र अनिश चौधरीले गोल गर्दा सन्तोष दाहाल र बिवश गुरुंगको प्रहार बाहिरिएको थियो । खेलको म्यानअफ द म्याच इटहरी निलोका करण सुनुवार घोषित हुदै नगद २ हजार पाए ।

प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछन । बुधबारको पहिलो सेमीफाइनलमा दुहबी नगरपालिका र रामधुनी नगरपालिका बिच हुनेछ । यस्तै बिहिबारको अन्तिम सेमीफाइनल खेल धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका बिच हुने प्रतियोगिता संयोजक केशव कार्कीले जानकारी दिए ।

सुनसरीका ६ वटा पालिका सहभागी मेयरकपको फाइनल खेल शुक्रबार हुनेछ । उपाधी बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार पाउने छ ।

मेयरकप प्रतियोगिता अन्र्तगत फूटबल सहित प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता समेत हुने छन । चैत १४ गते देखि १६ सम्म भलिवल प्रतियोगिता, चैत २८ गते देखि वैशाख ३ गतेसम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।