इटहरीः इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिताअन्तर्गत भएको फुटबल प्रतियोगितामा रामधुनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा रामधुनीले दुहबी नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो । रामधुनीले अब उपाधीका लागि बिहीबार हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
आजको खेलको निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । दुहबीका लागि भुवन बस्नेतले खेलको ९ औं र ३२ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ७० मिनेटको खेलमा रामधुनीका लागि खेलको ४५ औँ मिनेटमा अञ्जन लिम्बूले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । रामधुनीको लागि खेलको ७० औँ मिनेटमा तीर्थ बस्नेतले प्रहार गरेको बल पोलमा लागेर रिबाउण्ड हुँदा त्यसलाई अञ्जन लिम्बूले नै गोलमा परिणत गरेका थिए ।
पेनाल्टीमा रामधुनीका अञ्जन लिम्बू, अनिष धामी, अजित चौधरी र तीर्थ बस्नेतले गोल गरे । दुहबीका मनिष अधिकारीले मात्र गोल गर्दा कोमल खवास र शंकर चौधरीको प्रहार रामधुनीका गोलकिपर अभिषेक खड्काले बचाउ गरेका थिए । बुधबारको खेलको म्यानअफ द म्याच रामधुनीका गोलकिपर अभिषेक खड्का घोषित हँुदै नगद २ हजार पाए ।
प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम सेमीफाइनल खेल धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाबीच हुने प्रतियोगिता संयोजक केशव कार्कीले बताए । सुनसरीका ६ वटा पालिका सहभागी फाइनल खेल शुक्रबार हुने छ ।