इलामः खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ इलामको सूर्योदय नगरपालिका–४ को अन्तुमा ७ आंै अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला कराते सङ्घ र फिक्कल डोजोको संयुक्त आयोजनामा चैत २१ र २२ गते हुने कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश र दुबईका टिमको सहभागिता रहने निश्चित भएको हो ।
आयोजकले बुधबार गरेको पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा विभिन्न २५ विधामा ३ सय ५० बढी खेलाडीको सहभागिता रहने जानकारी गराएको हो । सूर्योदय नगरपालिका मुख्य प्रायोजक हुने प्रतियोगिताको सञ्चालन २ दिनसम्म हुने जिल्ला कराते सङ्घका अध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका गरी ३ सय, भुटानका २४, बङ्गलादेशका ३ र दुबइका ५ जना खेलाडी आउने तय भइसकेको आयोजकले जानकारी दिएको छ । जिल्ला कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय कराते प्रतियोगिता इलामका विभिन्न स्थानमा आयोजना गरिँदै आएको फिक्कल डोजोका अध्यक्ष प्रदीपनारायण सैजुले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ । प्रतियोगितामा पहिलो हुने टोलीले नगद ३० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले २० हजार तथा सान्त्वना स्थान ल्याउने २ टोलीले जनही १०÷१० हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछन् ।
प्रतियोगिताको गत संस्करण सूर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न गरिएको थियो । खेलाडीको क्षमता प्रदर्शनका साथै जिल्लाका पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक समितिको भनाइ छ ।
प्रतियोगिताको समापनको दिन वरिष्ठ गायक कुबेर राई, लेखु विवश, रगुन गुरुङ लगायतले साङ्गीतिक प्रस्तुति रहने अध्यक्ष चाम्लिङले बताए ।