इटहरीः आज इटहरीमा शुरु भएको मेयरकप भलिबल प्रतियोगितामा इटहरीको टिम हाबी भएको छ ।
उद्घाटन खेलमा इटहरी ए टिमले पथरीशनिश्चरे नगरपालिकालाई २–० को सोझो सेटले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको इटहरी ए टिमले दोस्रो सेटमा पनि २५–१३ को सहज जीत निकाल्न सफल भयो ।
आज नै भएको दोस्रो खेलमा इटहरी बी टिमले रामधुनी नगरपालिकालाई २५–१५, २२–२५ र २५–१४ ले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि बिहान पहिलो खेल उर्लाबारी नगरपालिका र धरान उपमहानगरपालिका बीच हुनेछ । त्यस्तै, दोस्रो खेल झापा गाउँपालिका र दमक नगरपालिकाबीच हुनेछ ।
भोलि दिउँसो नै सेमीफाइनल खेल सम्पन्न गराइने प्रतियोगिता संयोजक विक्रमबाबु थापाले जानकारी दिए । चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा एक नम्बर प्रदेशका ८ वटा स्थानीय तहका टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख र शिल्ड तथा उपविजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।