बेलबारीः १ महिना अघि मात्रै सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता खेतका गरामा गराइयो । क्रिकेट खेल्ने पिच नहुँदा खेतका गरामै भए पनि नगरपालिकाले प्रतियोगिता गरेको थियो ।

‘एकै पटक खेलकुदका संरचना बनाउन सकिएन’, मेयर कालिप्रसाद दासले भने, ‘खेलाडीलाई प्रोत्साहन गर्न खेतकै गरामा भए पनि क्रिकेट गराएका हाँै ।’ खेलस्थल नभएपछि अर्काको जग्गामा प्रतियोगिता सञ्चालन गरिएको उनले बताए । स्थानीय तहमा मेयर कप, वडाध्यक्ष कप जस्ता नाम दिएर विभिन्न खेलकुदका गतिविधि भइरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि संरचना अभावकै बीच पनि खेलकुदका गतिविधि हुने गरेको खेलकुद क्षेत्रका अग्रजहरू बताउँछन् ।

पछिल्लो समय नेपालमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै जान थाले पनि संरचना निर्माणले भने सोचे जति गति लिन सकिरहेको छैन । संरचना नभए पनि क्रिक्रेटप्रति आकर्षण बढ्दै गएको बेलबारी क्रिकेट क्लबका कप्तान अमित भगतले बताए । उनले सबै स्थानीय तहमा एउटा स्टेडियम आवश्यक रहेकोसमेत बताए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि पछिल्लो समय खेलकुदका गतिविधि बढेको देख्न थालिएको छ’, खेलकुद विकास समिति प्रदेश सदस्य राजन प्रसाईंले भने, ‘पहिला भन्दा खेलाडीसमेत उत्साहित भएका छन् । विभिन्न प्रतियोगिता सञ्चालनका लागि ठूलो रकम खर्च हुने गरेको उनले बताए ।

संरचान निर्माण हुँदै गर्दा खेलकुदका गतिविधि पनि सँगै बढाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले मेयर कपदेखि वडाध्यक्ष कप तथा अन्य खेलकुदका गतिविधि नगरपालिकाले गरिरहेको बताए । मदन भण्डारी कभर्ड हल बनाउन थालिएको समेत उनले बताए ।