इटहरीः क्यामरुनी क्लब दाफिन्सको जितसंगै दुहवीमा जारी तेश्रो मनमोहन दुहवी गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । दाफिन्सले भारतको रोयल फुटबल क्लबमाथी ३–२ गोल अन्तरको जित निकालेपछि सेमीफाइनल भिडने टिम पक्का भएको हो ।

खेलको सुरुवातबाटै दबाब बनाएको दाफिन्सले चौथो मिनेटमा यान्निक ओवानाको गोलबाट अग्रता बनायो । खेलको २६ औ मिनेटमा रोयलका बेनिटोले खेल बराबरीमा ल्याए । ३६ औ मिनेटमा क्यामरुनी यु–१९ टोलीका मेसुकोले अग्रता २–१ बनाए । ५८ औ मिनेटमा कोनेले गोल गरेपछि दाफिन्सको सेमीफाइनल यात्रा सहज बन्यो । खेलको ६३ औ मिनेटमा रोयल क्लबका क्रिसले गोल गरेपनि सेमीफाइनल प्रवेशका लागी पर्याप्त हुन सकेन । दाफिन्स फुटबल क्लबका मेसुको खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार तथा मेडल प्राप्त गरे ।

जितसंगै दाफिन्सले सेमीफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर।झापासंग प्रतिस्पर्धा गर्ने छ । जारी सिजनको प्रतियोगितामा दाफिन्स र काँकडभिट्टा दोश्रो पटक भिडनेछन । यसअघि इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपको पहिलो खेलमा दाफिन्स क्लबमाथी टाइव्रेकरमा जित निकाल्दै काँकडभिट्टा सेमीफाइनल पुगेको थियो ।

प्रतियोगिता अन्तरगत वुधवार पहिलो सेमीफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीले रुस्लान थ्रिस्टार क्लबको सामना गर्नेछ । चैत्र २० गते बिहिवार दोश्रो सेमीफाइनल खेल र दाफिन्स फुटबल क्लब क्यामरुनका बिच हुँनेछ ।

एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।