दुहवी: सुनसरीको दुहवीमा जारी तेस्रो मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो सेमी फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब काडमाडौंले रुस्लान थ्रिस्टार क्लब काठमांडौलाइ २–० गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ ।

दुहबी रङ्गशालामा भएको खेलमा पहिलो हाफ सम्म दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भए पनि खेल बराबरी भएको थियो । दोस्रो हाफको ५१ औँ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्बर २१ का खेलाडी भरत खवासले १ गोल गर्दै आफ्नो टिमलाई १–० गोल अन्तरले अग्रता दिलाए ।

७५ औँ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्बर २२ टेक बहादुर बुढाथोकीले १ गोल गर्दै आफ्नो टिमलाई जित सुनिश्चित गराए । यो जितसँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

त्रिभुवन आर्मीका जर्सी नम्बर २१ क्याप्टेन भरत खवास खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका मुख्य प्रायोजक अल्ट्राटेक सिमेन्ट प्रालीका प्रबन्ध निर्देशक मानिस मारुले पुरस्कार स्वरूप नगद १० हजार तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत बिहीबार दोश्रोसेमीफाइनल खेल मेची नेत्रालय काँकडभिट्टा फुटबल क्लब झापा र दाफिन्स फुटबल क्लब क्यामरुनका बिच हुनेछ ।

फाइनल खेल चैत्र २३ गते शनिवार हुँने आयोजकले जनाएको छ । एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।