इलामः खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि इलामको सूर्योदय नगरपालिका–४ को अन्तुमा ७ औँ अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता हुने भएको छ ।
जिल्ला कराते सङ्घ र फिक्कल डोजोको संयुक्त आयोजनामा हुने प्रतियोगिताको खेलस्थल र खेलाडी व्यवस्थापन लगायतका तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश र दुबईका खेलाडीहरू अन्तु आइपुगेको फिक्कल डोजोका अध्यक्ष प्रदीपनारायण सैँजुले बताए ।
प्रतियोगितामा विभिन्न २५ विधामा ३ सय ५० बढी खेलाडीको सहभागिता रहने जानकारी गराएको छ । सूर्योदय नगरपालिका मुख्य प्रायोजक हुने प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने जिल्ला कराते सङ्घका अध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए । जिल्ला कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय कराते प्रतियोगिता इलामका विभिन्न स्थानमा आयोजना गरिँदै आएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले नगद ३० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले २० हजार तथा सान्त्वना हुने २ टोलीले जनही १०÷१० हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिताको अघिल्लो संस्करण सूर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न गरिएको थियो ।
खेलाडीहरूको क्षमता प्रदर्शनका साथै जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक समितिको भनाइ छ । प्रतियोगिताको समापनको दिन वरिष्ठ गायक कुबेर राई, लेखु विवश, रगुन गुरुङलगायतको साङ्गीतिक प्रस्तुति रहने अध्यक्ष चाम्लिङले बताए ।