दुहबीः तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि चुम्ने त्रिभुवन आर्मी क्लब काठमाडौं र दाफिन्स फुटबल क्लब क्यामरुनले दाबी गरेका छन् । दुहबी रङ्गशालामा एलेभन एरोज क्लब दुहबी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शुरु भएको तेस्रो मनमोहन दुहबी गोल्ड कप प्रतियोगितामा शनिबार यी दुई टिम भिड्दैैछन् ।
त्रिभुवन आर्मीले रुस्लान थ्री स्टार क्लब काठमाडौंलाई र दाफिन्स फुटबल क्लब क्यामरुनले मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । यी २ टिमबीच विगतमा २ पटक सेमीफाइनलमा भीडन्त भइसकेको छ, जसमा दुवै पटक आर्मीले विजय हासिल गरेको थियो ।
शुक्रबार पत्रकारसँग बोल्दै दुवै टिमका कोच र क्याप्टेनले फाइनलसम्म पुग्नु खेलाडीका लागि ठूलो अवसर भएको भन्दै जित्ने प्रयास जारी राख्ने जनाएका छन् । पत्रकारसँग बोल्दै उनिहरुले आयोजकले राम्रो व्यवस्थापन गरेको भन्दै उच्च मनोबलका साथ खेल्ने बताए ।