सङ्खुवासभाः प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिता भोलि शुरु हुने भएको छ । चैनपुर नगरपालिकाको आयोजनामा हुन लागको प्रतियोगितामा प्रदेश १ का १३ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । चैनपुर रङ्गशालामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका संयोजक तथा चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले जानकारी दिए ।

मेयर खत्रीका अनुसार प्रतियोगितामा धनकुटाको धनकुटा नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, उदयपुरको कटहरी नगरपालिका, झापाको शिवसताक्षी नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका, इलामको सूर्योदय नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका सहभागी हुनेछन् । त्यस्तै सङ्खुवासभाका खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, मादी नगरपालिका, धर्मदेवी नगरपालिका, र पाँचखपन नगरपालिकाले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । खेल नकआउटका आधारमा खेलाइने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल शनिबार खाँदबारी नगरपालिका र धनकुटा नगरपालिकाबीच हुने आयोजकले जनाएको छ ।