ताप्लेजुङ: ताप्लेजुङमा आगामी चैत ३० गतेदेखि ताप्लेजुङ रन शुरु गरिने भएको छ । शरीरलाई स्वस्थ राख्दै स्वस्थ समाज निर्माण गर्न र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने उद्धेश्यसहित ताप्लेजुङ रनको थालनी गर्न लागिएको हो ।

हरेक शनिबार बिहान हुने ताप्लेजुङ रन तथा दौडमा जुनसुकै उमेर समूहका महिला तथा पुरुष सहभागी हुन पाउने ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले बताए । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट शुरु हुने दौड हेलिप्याडसम्म पुगेर फर्किदा दोबाटो, पराजुली चोक हुँदै पुन वीरेन्द्र चौकमा नै आएर टुङ्गिने बताइएको छ ।

खवासका अनुसार उक्त दौडमा सहभागी भएर तोकिएको क्षेत्रमा दौड पुरा गरेपछि सहभागीको नाम दर्ता गराईने छ । दौडमा सहभागी हुनका लागि शुल्क लाग्दैन ।

दौडमा सहभागी हुनेलाई तीन समुहमा विभाजन गरिने छ । जस अनुसार १२ वर्ष भन्दा कम उमेर, १२ देखि १६ वर्ष उमेर समूह र भेट्रान गरी तीन समूह हुनेछन् । दौडमा सहभागी हुन उमेरले फरक नपर्ने तर स्वास्थ्य परीक्षण गराएर उपयुक्त देखिएमा मात्रै सहभागी हुन पाइने जनाइएको छ । ताप्लेजुङ रनले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

ताप्लेजुङ रनको विभिन्न निश्चित अवधि पूरा हुँदा सो समयमा सहभागीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमसमेत गरिने अध्यक्ष खवासको भनाइ छ । बेलायतमा हुने पार्क रनको अवधारणाअनुसार नेपालमा पहिलो पटक धरानमा धरान रनको थालनी भएको थियो । त्यसपछि दमक, पोखरा लगायतका ठाउँमा समेत यस प्रकारका दौड हुन थालेका छन् ।