सङ्खुवासभाः प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुने भनिए पनि वर्षाका कारण स्थगित भएको छ ।

चैनपुर नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का १३ वटा टिम प्रतिष्पर्धामा छन् । चैनपुर रङ्गशालामा प्रतियोगिता हुने भएको हो ।

मूल समारोह समितिका संयोजक तथा चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीका अनुसार पानी रहेपछि खेल खेलाइने हुनाले अहिले नै मिति र समय घोषणा गरिएको छैन ।

आजको उद्घाटन खेल बिहान ११ बजे खाँदबारी नगरपालिका र धनकुटा नगरपालिकाबीच हुने तय भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । खेल नकआउटका आधारमा खेलाइने भएको छ ।