दुहवी: सुनसरीको दुहवीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि दाफिन्स क्लब क्यामरुनले जितेको छ । शनिवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमांडौलाई सड एन्ड डेथमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै दाफिन्स क्लब क्यामरुनले नगद ६ लाख रुपैयाँ प्राप्त गर्यो । त्रिभुवन आर्मी क्लब काठमांडौले ३ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
फाइनल खेलमा मध्यान्तर अघि र मध्यान्तर पछि दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भए पनि बराबरी भएको थियो । निर्धारित समय सम्म दुवै पक्षबाट गोल न भएपछि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सड एन्ड डेथ टाइममा त्रिभुवन आर्मीका जर्सी नम्बर ३३ विकास खवास गोल गर्नबाट चुकेपछि दाफिन्स क्लब क्यामरुनले उपाधि हात पारेको हो । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारलेले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
त्रिभुवन आर्मी क्लब काठमांडौका जर्सी नम्बर २ सुमन अर्याल खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई पुरस्कार स्वरूप नगद १० हजार तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभरका विभिन्न उत्कुष्ट विधा तर्फका खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट डिफेण्डरमा त्रिभुवन
आर्मीका विकास खवास घोषित भए । उत्कृष्ट मीडफिण्डरमा दाफिन्स फुटबल क्लब क्यामरुनका ओनगुन जुनियर,उत्कृष्ट फर्वाड
आर्मीका भरत खवास, सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका टेक बहादुर बुढाथोकी तथा सर्वोत्कृष्ट खेलाडी आर्मीका सन्तोष तामाङ घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही नगद १५ हजार मेडल प्राप्त गरे भने । सर्वोत्कष्ट खेलाडी सन्तोष तामाङले २५ हजार नगद र ३२ इन्च एलइडि टिभी प्राप्त गरे ।