इटहरीः मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत इटहरीमा आइतबारदेखि मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन खेलमा इटहरी उपमहानगरपालिकाको रातो टिमले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न पहिलो खेलमा इटहरी रातो टिमले दुहबी नगरपालिकालाई ५५ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिड गरेको इटहरीले निर्धारित १६ ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय १९ रनको योगफल खडा गरेको थियो । इटहरीलाई सम्मानजनक योगफल खडा गर्नको लागि सरोज कटुवालले ३४ रन, बिकेश बञ्जराले २३ रन र सुमन पौडेलले १६ रनको योगदान दिए । जवाफमा १ सय २० रनको विजयी लक्ष्य पछ्याएको दुहबी नगरपालिकाले ११ दशमलव ४ ओभरमा अलआउट हुँदै ६३ रन मात्र बनाउन सक्यो ।
दुहबीका लागि चन्दन रौनियारले २६ रन बनाउँदा सुरज रौनियारले १४ रन जोडे । इटहरीका लागि म्यान अफ द म्याच भुपाल लुइँटेल र सुमित तिमल्सिनाले ३–३ विकेट लिँदा मनिष दाहालले २ विकेट लिए ।
आइतबार नै सम्पन्न दोस्रो खेलमा विराटनगर उपमहानगरपालिकाले इटहरी हरियोलाई १० रनले पराजित गरेको छ । सोमबार पहिलो खेल बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुनेछ । दोस्रो खेल बिर्तामोड नगरपालिका र इनरुवा नगरपालिकाबीच हुने बताइएको छ ।
यसअघि मेयरकप अन्तर्गत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भइसकेका छन् । इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन् । इटहरी–९ स्थित क्रिकेट मैदानमा चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने छ ।
यस्तै, विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद ३–३ हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक सीपी पौडेलले बताए ।