सुनसरीः इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा बेलबारी नगरपालिका र बिर्तामोड नगरपालिका विजयी भएका छन् ।
इटहरी–९ स्थित क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो ।
बेलबारीका लागि आशिष झाले ४७, विकास दासले ३६ र अमित यादवले २७ रनको योगदान दिए । बलिङतर्फ पथरीशनिश्चरेका राज राईले २ विकेट तथा निकेश खत्री र रावण राईले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको पथरीशनिश्चरेले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सक्यो । पथरीशनिश्चरेका लागि आकाश खत्रीले अभिजित ५० रन बनाए पनि हार टार्न सकेनन् । केलिन राईले २० रन जोड्दा अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । बलिङतर्फ बेलबारीका लागि म्यान अफ द म्याच विकास दास, एलन राई र अमित भगतले १–१ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिकाले इनरुवा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिड गरेको इनरुवाले निर्धारित १९ ओभरको खेलमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । जवाफमा ९२ रनको विजयी लक्ष्य बिर्तामोडले ८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । प्रतियोगिता अन्तर्गत भोलि दुई वटा सेमीफाइनल खेल हुनेछन् ।
भोलिको पहिलो सेमीफाइनल खेल इटहरी र बेलबारीबीच हुँदा दोस्रो खेल बिर्तामोड र विराटनगरबीच हुनेछ । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगितामा १ नम्बर प्रदेशका ८ टिम सहभागी छन् । इटहरी–९ स्थित क्रिकेट मैदानमा चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने छ ।