इटहरीः इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधीको लागि इटहरी उपमहानगर र विराटनगर महानगरपालिका भिड्ने भएका छन् । मङ्गलबार सम्पन्न सेमीफाइनलमा इटहरीले बेलबारी नगरपालिकालाई र विराटनगरले बिर्तामोड नगरपालिकालाई पराजित गर्दै उपाधी भीडन्त पक्का गरेका हुन् ।
मङ्गलबार सम्पन्न पहिलो सेमीफाइनलमा इटहरी उपमहानगरपालिकाले बेलबारी नगरपालिकालाई ३ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो । इटहरी–९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिड गरेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रनको योगफल खडा गरेको थियो । बेलबारीका लागि अमित यादव र आशिष झाले २०–२० रनको योगदान दिए । अन्य ब्याट्समेनले दोहोरो रनको योगफल जोड्न सकेनन् । बलिङतर्फ इटहरीका रवि साहले ४ विकेट लिँदा उज्ज्वल श्रेष्ठले ३ र जोसेफ खड्काले २ विकेट लिए ।
जवाफमा ८२ रनको विजयी लक्ष्य इटहरीले १५ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । इटहरीका लागि अनिष लुइँटेलले १६ रन बनाउँदा सलमान आलमले १३ र म्यान अफ द म्याच रवि शाहले १२ रनको योगदान दिए ।
मङ्गलबार नै सम्पन्न दोस्रो सेमीफाइनलमा विराटनगरले बिर्तामोड नगरपालिकालाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको विशाल योगफल खडा गरेको थियो । विराटनगरका लागि दिपेश कँडेलले सर्वाधिक ५७ रनको पारी खेले । यस्तै पुष्प थापाले ३१, फिर्दोष अन्सारीले २९ र दीपक पासवानले २८ रनको योगदान दिए । बलिङतर्फ बिर्तामोडका बिनित बास्तोलाले २ विकेट लिए ।
जवाफमा १ सय ८३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको बिर्तामोड १६ दशमलव ५ ओभरमा अलआउट हँुदै ६० रन मात्र बनाउन सक्यो । बिर्तामोेडका लागि समीर कार्कीले २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बिर्तामोडलाई सस्तैमा समेट्न पुष्प थापाले ३ विकेट, श्रवण यादव र म्यान अफ द म्याच दिपेश कँडेलले २ विकेट लिए । इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु प्रतियोगताको उपाधी भीडन्त बुधबार हुनेछ । एक नम्बर प्रदेशका ८ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले २५ हजार र ट्रफी पाउनेछन् ।