विराटनगरः मोरङको रतुवामाई नगरपालिकामा अयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल ७ नं वडाले जितेको छ । सौंठा माविको खेलमैदानमा मङ्गलबारबाट शुरु भएको रतुवामाई प्रथम मेयर कपको उद्घाटन मोरङ क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य डा. मीनेन्द्र रिजालले गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा रतुवामाई नगरपालिकाका वडा नं ७ र ८ ले प्रतिस्पर्धा गरेका थिए । खेलमा वडा नं ८ लाई ४–१ को गोल अन्तरले हराउँदै वडानं ७ ले जीत निकालेको हो । खेलका म्यान अफ द म्याच ७ नं वडाका खेलाडी सरोज मगर भएका छन् ।
प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहेको छ । वैशाख ७ गतेसम्म सञ्चालन हुने मेयर कप प्रतियोगिताको विजयी टिमले १ किलोग्राम चाँदी र १ तोला सुनको रनिङ शिल्ड, नगद रु १ लाख, दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले नगद रु ३० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
आजको खेल वडा नम्बर २ र ३ बीच हुने आयोजकले जनाएको छ ।