सङ्खुवासभाः जिल्लाको चैनपुर नगरपालिकाको आयोजनामा दोस्रो चैनपुर मेयर कप फुटबल प्रतियोगिता जारी छ । चर्चित राष्ट्रिय र विदेशी खेलाडीको नाम र अनुहार सञ्चार माध्यममा सुनेका र देखेका सङ्खुवासभावासी यतिखेर उनीहरूलाई स्थानीय मैदानमा नै देख्दा र खुशी हुँदै खेल हेर्न आकर्षित भएका हुन् ।

प्रतियोगितामा सहभागी हुन आएका कतिपय टिमले विदेशी खेलाडी झिकाएका छन् । विदेशी खेलाडीको खेलकौशल हेर्नकै लागि भए पनि दर्शकहरू सङ्खुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा पुगेका छन् । राष्ट्रिय स्तरका खेलाडीको सहभागिता भएपछि सङ्खुवासभाका फुटबलप्रेमीलाई उत्साही बनाएको छ । खेल हेर्नकै लागि सदरमुकाम खाँदबारीबाट करिब ५० किलोमिटर टाढा रहेको चैनपुर जाने खेलप्रेमी दर्शकको ताँती लाग्ने गर्छ ।

यस्तै दर्शकमध्येका एक हुन् खाँदबारीका रोजन बुढाथोकी । ‘प्रतियोगितामा विदेशी खेलाडीले विभिन्न स्थानीय तहबाट खेलेको सुनेपछि म खेल हेर्न आएको हुँ,’ चैनपुर पुगेका उनले भने, ‘टेलिभिजनमा विदेशी खेलाडीको खेल हेर्नु र प्रत्यक्ष हेर्नुमा फरक रहेछ, उनीहरूको खेलकौशल नै छुट्टै खालको मैले पाएँ ।’

सानासाना प्रतियोगिता मात्रै हुने जिल्लामा ठूला प्रतियोगिता हुनु र त्यसमा पनि विदेशी खेलाडीको आगमनले दर्शक र खेलाडीलाई झन् उत्साह थपेको छ । चैनपुरका भीषण शाक्य भन्छन्, ‘जिल्लामा ठूलो पुरस्कार राशी र राष्ट्रिय तथा विदेशी खेलाडी समावेश गरेर मेयर गोल्डकपले फुटबलप्रेमीमा उत्साह मात्रै होइन जिल्लाकै खेलकुद गतिविधिलाई चलायमान तुल्याएको छ ।’

चैनपुरमा जारी दोस्रो मेयर गोल्डकपमा खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका आदिले विदेशी खेलाडी समावेश गरेर खेलिरहेका छन् । त्यस्तै, झापा, धनकुटा, सुनसरी लगायतका जिल्लाबाट प्रतिनिधित्व गरिरहेका टिमले पनि राष्ट्रिय स्तरका खेलाडीलाई मैदानमा उतारेका छन् ।

‘साना खेलमा पनि दर्शकको निकै चाप हुन्थ्यो’, चैनपुरका सूर्यकिरण भण्डारी भन्छन्, ‘अहिले त झन् विदेशी र राष्ट्रिय स्तरका खेलाडी भएपछि खेल हेर्न आउनेले बस्ने ठाउँसम्म पाउँदैनन् । त्यसैले भीरपाखा, बारीको डिलमा नै बसेर दर्शकले खेलको मज्जा लिइरहेका छन् ।’
सामान्य मैदानमा यस्ता प्रकारका गतिविधि हुनु उपलब्धिपूर्ण भएको चैनपुर नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा शेर्पा बताउँछन् । ‘सबै खेल र खेलाडीको टिम पनि उत्कृष्ट भएकाले खेल हेर्नेलाई समेत मज्जा बेग्लै छ’, उनले भने, ‘दर्शकहरू चर्को घाम र पानीको कुनै पर्वाह नगरी सबै खेल हेरेर मात्रै फर्कन्छन् ।’

दर्शकको उत्साह र खेलप्रेमीको माया पाएर नै चैनपुर नगरपालिका पनि हौसिएको छ । प्रतियोगितालाई स्तरीय बनाउनकै लागि भए पनि गत वर्ष भन्दा यो वर्ष पुरस्कारको राशी समेत बढाएको छ । आगामी वर्षदेखि झनै स्तरीय र नियमित प्रतियोगिता गरिने चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताए ।

उनले चैनपुरलाई प्रदेश १ मा खेलकुदको हब बनाउने बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट यो नगरलाई चिनाउने लक्ष्य छ । यो क्षेत्रमा खेलकुद ओझेलमा परेको थियो । गत वर्ष र यो वर्ष प्राथमिकतामा राखेर कायक्रम गरियो । आगामी वर्षहरूमा पनि खेलकुद यो नगरको प्राथमिकतामा पर्छ ।’

स्थानीय खेलाडीले राष्ट्रिय स्तरका र विदेशी खेलाडीसँगको अनुभव साट्न पाऊन् भन्ने उद्देश्यले एक टिममा बढीमा तीन जनासम्म राष्ट्रिय तथा विदेशी खेलाडी खेल्न पाउने नियम राखेको मेयर खत्रीले बताए । यसरी एकै खेलमा विदेशी र स्थानीय खेलाडी खेल्दा विदेशी खेलाडीको खेल कौशल स्थानीय खेलाडीले ग्रहण गर्ने उनले दाबी गरे ।

‘खेलकुदमार्फत् पर्यटन, पहिचान प्रगति र गरिमा, समृद्धि र एकताको लागि फुटबल प्रतियोगिता’ भन्ने नाराका साथ चैनपुर रंगशालामा जारी प्रतियोगितामा प्रदेश १ का १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार, म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुने छ ।