इटहरीः अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक नम्बर प्रदेशबाट उमेर समूहका खेलाडीको छनोट शुुरु गरेको छ ।

विभिन्न जिल्लाबाट छनोट भएर आएका मध्ये १ नम्बर प्रदेशका लागि १६ वर्षमुनि र १३ वर्षमुनिका खेलाडीको छनोट सुनसरीको दुहबीमा शुरु भएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । दुहबी रङ्गशालामा शुक्रबारबाट शुरु भएको छनोट कार्य बैशाख १ गतेसम्म जारी रहनेछ ।

प्रदेश नम्बर–१ अन्तर्गत सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी, खोटाङका खेलाडीबाट कम्तीमा ५० जना उत्कृष्ट खेलाडी छनोट गरिने कार्कीले जानकारी दिए । जसबाट १३ वर्ष मुनिका खेलाडी एकेडेमीमा राखिनेछ । छनोटका लागी एन्फाका प्रशिक्षक बालगोपाल महर्जन र राजेश मानन्धर लगायतको छनोट टोली सुनसरी आएको छ ।

एन्फाले यस कार्यक्रमबाट खेलाडीको क्षमता र खेल विकासमा ध्यान पुर्याउने जनाएको छ । सातै प्रदेशमा छनोटका क्रममा १३ वर्षमुनिका ७५ जना खेलाडीलाई एन्फाको धरान एकेडेमी, बुटवल एकेडेमी र ललितपुर स्थित एन्फा एकेडेमी राखिनेछ । १६ वर्ष मुनिका खेलाडीलाई भने छनोट गर्दै राष्ट्रिय टोलीका लागि तयार गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।