इटहरीः दाङको लमहीमा सञ्चालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हँुदै ७० रन बनाउन सफल भयो ।
सरस्वती पुनले १८, सरस्वती जिएम र लक्ष्मी चौधरीले समान १५÷१५ रन जोडे । बलिङतर्फ प्रदेश १ की रश्मि शर्मा चौलागाईंले ३ ओभरमा १ मेडन ओभर सहित १२ रन खर्च गरेर ४ विकेट लिइन् । शबनम राईले ३ ओभर २ बलमा ९ रन खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्री र भिग्मा तामाङले समान १÷१ विकेट लिए ।
७१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १४ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन लिएर ७ विकेटले जीत हासिल गरेको थियो । जसमा रोमा थापाले ३१ बलमा सर्वाधिक २३ रन जोड्न सफल भइन । यस्तै अब्सरी बेगमले २१ बलमा १५ र काजल श्रेष्ठले १४ बलमा १२ रन जोडे ।
खेलमा प्रदेश १ की रश्मि शर्मा चौलागाईं म्यान अफ द म्याच घोषित भइन् । उनी पहिलो खेलमा १५ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा ह्याट्रिक विकेट लिन सफल भएकी थिइन् ।
यसैगरी, बुधबार सम्पन्न दोस्रो खेलमा २ नं प्रदेश ६२ रनले विजयी भएको छ । गण्डकी प्रदेशलाई ६२ रनले हराउँदै प्रदेश नम्बर २ विजयी भएको हो ।