झापाः पर्सि बैशाख १२ गतेदेखि झापाको मेचीनगरमा हुन गइरहेको मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करण सफल बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आग्रह गरेका छन् ।
उक्त गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । सोमबार प्रतियोगिताको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले काँकरभिट क्याम्पस परिसरमा प्रतियोगिताको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रमुख आचार्यले यस्तो आग्रह गर्दै प्रतियोगितालाई नगरकै गहनाका रूपमा लिएर सफलतापूर्वक सम्पन्न गर्न नगरका उद्योगी, व्यवसायी, खेलप्रेमीलगायत सम्पूर्ण नगरवासीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका हुन् ।
आगामी दिनमा समेत नगरपालिकाले यो प्रतियोगितालाई निरन्तरता दिने प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे । मेचीनगर हरेक क्षेत्रको खेलको उर्वरभूमि भएकाले नगरलाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै पहिचान गराउन नगरपालिका खेलको विकास र प्रवद्र्धनमा लागेको उनको भनाइ थियो । मेचीनगरले फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाललगायत धेरै खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको स्मरण गर्दै युवाहरूलाई खेलकुदमा अभिप्रेरित गर्न नगरपालिका लाग्ने प्रमुख आचार्यले उदघोष गरेका थिए ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मीनबहादुर बस्नेतले प्रतियोगिता तयारीको ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । ३ हजारदेखि ४ हजार दर्शक राम्ररी बसेर खेल हेर्न सक्ने प्यरापिट निर्माण, नगरका विभिन्न भागमा स्वागतद्वार निर्माण, मैदानको मर्मत सम्भारलगायतका काम सम्पन्न भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
बैशाख २१ गते सम्पन्न सञ्चालन हुने प्रतियोगितामा क्यामरुनको दाउफिन्स एफसी, पारो एफसी भुटान, रुस्लान थ्रीस्टार क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं सहभागी हुने भएका छन् । त्यस्तै, नेपाल पुलिस क्लब काठमाडौं, सीएमजी सङ्कटा क्लब काठमाडौं, च्यासल युथा क्लब काठमाडौं, मेची नेत्रालय झापा, धरान फुटबल क्लब सुनसरी, माइभ्याली फुटबल क्लब इलाम सहभागी हुने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापा मगरले बताए ।
उनका अनुसार काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् ।
प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले तेस्रो संस्करणसम्म आइपुग्दा दाताले कबोलेको रकम नदिँदा प्रतियोगिता घाटामा गएको र आयोजकले आर्थिक व्ययभार व्यहोर्नुपरेको बताए । चौथो संस्करण सम्पन्न गर्न ८० लाखदेखि ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।
प्रतियोगिताको विजयी टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् । उनका अनुसार बेष्ट फर्वड, मिडफिल्ड, डिफेन्डर, गोलकिपर, कोच र राइजिङ प्लेयरले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राईले अस्पतालले हरेक युवालाई खेलको माध्यमबाट अघि बढाउन लगानी गरेको बताए । झापा जिल्ला फुटबल सङ्घका महासचिव शेरबहादुर बस्नेतका अनुसार प्रतियोगिताभर प्राविधिक सहयोग झापा जिल्ला फुटबल सङ्घको रहने छ ।
झापा जिल्ला खेलकुद विकास समिति, काँकरभिट्टा भेट्रान फुटबल क्लब, मेचीनगर खेलकुद विकास समिति सहआयोजकको रूपमा रहने छन् । पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापा, पूर्वअध्यक्ष डिल्लीराम घिमिरे काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङलगायतले संयुक्त रूपमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका थिए ।
तालिकाअनुसार उद्घाटन खेल आयोजक आयोजक मेची नेत्रालय काँकरभिट्टा झापा र क्यामरुनको दाउफिन्स एफसीबीच हुने छ ।