इटहरीः आठौ राष्ट्रिय खेलकुदअन्तर्गत भएको ११ औं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाइनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जितेका छन् । उनले प्रदेश नं ३ का प्रदीप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए ।
महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश नं. १ का श्रीया योन्जन र गण्डकी प्रदेशका प्रीति बरालले कास्य पदक जिते ।
टिम इभेन्ट पुरुषमा प्रदेश १ ले स्वर्ण जितेको छ । प्रदेश १ ले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश ३ र प्रदेश ५ तेस्रो बने ।
टिम ईभेन्टकै महिलातर्फ भने प्रदेश ५ ले नै स्वर्ण जितेको छ । प्रदेश नं १ लाई ४–२ को सेटमा पराजित गर्दै प्रदेश ५ ले स्वर्ण जितेको हो । गण्डकी प्रदेश र प्रदेश नं ३ तेस्रो भए ।
यसअघि भएको पुरुष युगलमा नेपाल पुलिसका कमल भण्डारी र नौबहादुर लुगेलीको जोडीले स्वर्ण हात पारेका थिए । प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै उनीहरूले स्वर्ण हात पारेका थिए ।
महिला युगलतर्फको खेलमा भने प्रदेश नम्बर १ तेस्रो भएको छ । प्रदेश नं. ३ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन् ।
मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाइब्रेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जिते । ७ इभेन्टमा गरी जम्मा ६८ जना खेलाडी सहभागी थिए ।
प्रतियोगिताको आज समापन हुँदैछ । नेपालगञ्ज रङ्गशालामा पुरुष फुटबलको फाइनल अपरान्ह ३ बजे हुने र सो प्रतियोगिता सकिएपछि समापन समारोह हुने बताइएको छ । उता, कोहलपुरमा पुरुष क्रिकेटको फाइनल अहिले १ बजे शुरु भएको छ ।