झापाः मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करण आज बिहीबारबाट शुरु हँुदैछ । काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् । उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाउफिन्स एफसीबीच हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ भने संरक्षकको रूपमा मेचीनगर नगरपालिका रहेको छ । यसैगरी, झापा जिल्ला खेलकुद विकास समिति, काँकरभिट्टा भेट्रान फुटबल क्लब, मेचीनगर खेलकुद विकास समिति सहआयोजकको रूपमा छन् । प्रतियोगिताभर प्राविधिक सहयोग झापा जिल्ला फुटबल सङ्घको रहने भएको छ । चौथो संस्करण सम्पन्न गर्न ८० देखि ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बैशाख २१ गते सम्पन्न हुने प्रतियोगिताको विजयी टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् । उनका अनुसार बेष्ट फर्वाड, मिडफिल्ड, डिफेन्डर्स, गोलकिपर कोच र राइजिङ प्लेयरले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा क्यामरुनको दाउफिन्स एफसी, पारो एफसी भुटान, रुस्लान थ्रीस्टार क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, सीएमजी संकटा क्लब काठमाडौं, च्यासल युथा क्लब काठमाडौं सहभागी हुने छन् ।

त्यस्तै, मेची नेत्रालय काँकरभिट्टा एफसी झापा, धरान फुटबल क्लब सुनसरी, माइभ्याली फुटबल क्लब इलामसहित १० वटा टिमले सहभागिता जनाउने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापामगर (राजा)ले बताए ।