झापाः विदेशी टोली क्यामरुनको दाउफिन्स एफसी मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करणको उद्घाटन खेलबाटै बाहिरिएको छ ।
हिजो शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग टाइब्रेकरमा ४—२ गोल अन्तरले पराजित भएपछि दाउफिन्स प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समयसम्म दुवै टिमले २—२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यो जीतसँगै आयोजक अघिल्लो चरणमा प्रवेश गरेको छ ।
खेलको छैटौं मिनेटमा दाउफिन्सका लागि ओगेन जुनियरले पहिलो गोल गरेर खाता खोलेका थिए । मेसुकेको कडा प्रहार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पञ्च गरेर फर्काएपछि पाएको अवसरलाई जुनियरले गोलमा परिणत गरेका थिए ।
शुरुदेखि नै अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफको २० औँ मिनेटमा दाउफिन्सका तर्फबाट ओगेन जुनियरले पुनः गोल गर्दै खेलमा २ शून्यको नतिजा निकालेका थिए । मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोल रक्षक गिरीले जोगाउन सकेनन् ।
२१ औँ मिनेटमा आयोजकका तर्फबाट खेलका म्यान अफ दी म्याच समेत घोषित नगेन तामाङले गोल गरेका थिए । डी एरियामा दाउफिन्सका खेलाडी बिट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोष्टको जाली चुमेको थियो ।
खेललाई बराबरीमा ल्याउन आयोजकले निकै आक्रमक रूपमा खेल प्रदर्शन गरेको थियो । पुनः तामाङले ३७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । दाउफिन्सका खेलाडीले अफ साइड अपिल गर्दै छोडेको बललाई तामाङले पोष्टको दिशा दिएका थिए ।
दुवै टिमले २—२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट विकास लिम्बू, पुजन उपरकोटी, निरज बस्नेत र निशान लिम्बूको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोक्न सकेनन् भने योगेश गुरुङको प्रहारको राम्रो बचाउ गरे ।
दाउफिन्सका प्रिसो र विकीको प्रहार काँकरभिट्टाका गोलरक्षक किशोर गिरीले बचाउ गर्न सकेनन भने सिलो र पेटनाङको प्रहार बाहिरएको थियो । खेलको म्यान अफ द म्याच घोषित आयोजकका तामाङले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाडौंबीच हुने छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।