इलामः मिलन राईको निर्णायक गोलको मद्दतले धरान फुटबल क्लब काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरानले च्यासल युथ क्लब काठमाडौंलाई पराजित गरेको हो । खेलको निर्णयका लागि ८१ औँ मिनेटसम्म पर्खनु परेको थियो । विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिङ्गल खेल्दै मिलनले शानदार गोल गरेका थिए । सेमीफाइनल प्रवेशका लागि धरानले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा दुवै टिमबाट केही राम्रा अवसर सिर्जना भए पनि सदुपयोग हुन नसक्दा खेलमा एक मात्र गोल निर्णायक बन्यो । च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरिएको थियो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोवासेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार गोल पोष्टमाथिबाट बाहिरियो ।

निर्धारित ९० मिनेटभर च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि गोल गर्न नसक्दा प्रि–क्वाटरफाइनलबाटै बाहिरिनुप¥यो । उसका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलका २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सही दिशा लिन सकेन ।

खेलको २० औं मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड ब्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८४ औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरिँदा खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।

खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङले पुरस्कार प्रदान गरेका थिए । शनिबारको पहिलो क्वाटर फाइनल खेल आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र सङ्कटा क्लब काठमाडौँबीच हुने छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।

mechi netralaya  (2)