भोजपुरः भर्खरै मात्र सरकारले घोषणा गरेको १ सय वटा पुग्नैपर्ने गन्तव्यमा पर्न सफल भोजपुरको पर्यटकीय गन्तव्य मुन्धुम पदमार्ग पनि हो ।
सो पदमार्गको प्रचारप्रसार र प्रवद्र्धनका लागि टेम्केमैयुङ मुन्धुम ट्रेल रेसको आयोजना गरिएको छ । ३८ किलोमिटर लामो सो रेसको उपाधि भोजपुरका २१ वर्षीय सबिन तामाङले हात पारेका छन् । भोजपुर नगरपालिका वडा नं. ३ बोखिमका २१ वर्षीय सबिनले ३८ किलोमिटर रेस ४ घण्टा ३ मिनेट ११ सेकेण्डमा पार गरेका हुन् ।
प्रतियोगितामा प्युठानका ४१ वर्षीय धावक दामोदर बुढाथोकीले ४ घण्टा ११ मिनेटमा दूरी पार गरेर दोस्रो बने । उनी ४० वर्षमाथिका प्रतिस्पर्धीमा पहिलो भए । खोटाङका दिव्यराज बस्नेत प्रतियोगितामा तेस्रो हुँदा मोरङका याङदेव राईले सान्त्वना स्थान पाए ।
महिलातर्फको सोही दुरी ५ घण्टा ५२ मिनेटमा पार गर्दै ओखलढुङ्गाकी २१ वर्षीया छोकी शेर्पा प्रथम भइन् । त्यस्तै, भोजपुरकी १७ वर्षीया प्रनिसा तामाङले ५ घण्टा ५६ मिनेटमा दौड पूरा गरेर दोस्रो बनिन् । भोजपुरकै प्रतीक्षा राई र प्रतिभा श्रेष्ठले क्रमश तेस्रो र सान्त्वना पुरस्कार पाए ।
४० वर्षमाथिको दौडमा उत्तरकुमार राई र निर्मल राई क्रमश दोस्रो र तेस्रो भए । त्यस्तै, सुनसरीकी ४९ वर्षीया रीता राईले पनि दौड पूरा गरेर पुरस्कार हात पारिन् । प्रतियोगिताका विजेता, उपविजेता तथा दौड पूरा गर्ने खेलाडीलाई नगद, ट्रफी, मेडलको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमी भोजपुरले आयोजना गरेको ट्रेल रेस प्रतियोगितामा भोजपुर, खोटाङ, सङ्खुवासभा, सोलु, ओखलढुङ्गा, प्युठान लगायतका विभिन्न जिल्लाका १७ जना महिलासहित ८४ जना धावकहरू प्रतिष्पर्धामा उत्रिएका थिए ।
अल्ट्रा ट्रेलको क्षेत्रमा धावक मीरा राईले भोजपुरलाई विश्वमा चिनाएकाले यस खेलको सम्भावना र विकासको लागि प्रतियोगिता आयोजना गरेको बताइएको छ । मीराजत्तिकै खेलाडी उत्पादन गर्न आफूहरू सीमित स्रोत र साधनका बाबजुद खटिरहेको एकाडेमीका अध्यक्ष पाबिहाङ राईले बताए ।
यस एकाडेमीले भोजपुरमा ३ वटा प्रतियोगितासमेत गराइसकेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक टेम्केमैयुङ गाउँपालिकाका प्रमुख ध्रुवराज राईले टेम्केमैयुङ क्षेत्रमा आयोजना गरिएको यस ट्रेलरेसले जिल्लाको खेलकुदको क्षेत्रको विकासमा नौलो आयाम थपेको बताए ।
खेलकुदले सबैलाई एकताबद्ध पारेर राष्ट्रियताको भावना बढाउने भएकाले स्थानीय सरकारले खेल क्षेत्रको विकासमा लगानी गरी ग्रामीण भेगमा ओझेलमा परेका प्रतिभालाई उजागर गर्नुपर्ने बताउँदै उनले त्यसका लागि आफू तयार रहेको बताए ।
प्रतिष्पर्धामा सहभागी धावकहरूले पूर्वी पहाडको नयाँ पदमार्गमा दौडँदा त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सौन्दर्यका कारण उत्साह थपेको प्रतिक्रिया दिए ।