धनकुटाः धनकुटामा आजदेखि प्रदेश नं. १ स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म सञ्चालन हुने स्थानीय संयोजक समितिले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख नगदसहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कृत गरिने स्थानीय आयोजकले जानकारी दिएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।