झापाः टाइब्रेकरमा जीत निकाल्दै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पुलिसले सिएमजी सङ्कटाको चुनौती ४–३ गोल अन्तरले पन्छाएको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । पुलिसका मानबहादुर तामाङले टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ७२ औँ मिनेटमा सङ्कटाका गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाए ।

अन्तिम ५ मिनेटमा पुलिसले अग्रता जोगाउन नसक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नुप¥यो । खेलको ८७ औँ मिनेटमा सङ्कटाका लागि फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । काउण्टर अट्याक बललाई हेडमार्फत् फोडेले जाली चुमाएका थिए । टाइब्रेकरमा पुलिसको जीतका लागि अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका गोलरक्षक रोशन खड्का नायक बने । उनले सङ्कटाका २ प्रहारलाई बचाएका थिए ।

फाइनलको यात्रा तय गर्न टाइब्रेकरमा प्रहरीका तर्फबाट अजित भण्डारी, भरत शाह, तीर्थबहादुर राना र हरि कठायतले गोल गरेका थिए । प्रहरीकै सुमन लामाको प्रहारलाई विपक्षी गोलरक्षक राजाबाबु थापाले बचाए ।

यता सङ्कटाका अमित तामाङ, टम्पी अर्नेस्ट र दिपेश आलेमगरले गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई गोलरक्षक खड्काले ंउत्कृष्ट बचाउ गरेपछि सङ्कटाको फाइनल पुग्ने सपना अधुरै रह्यो ।

जीतसँंगै पुलिसले कम्तीमा ५ लाख १ हजार रुपैयाँ सुरक्षित गरेको छ । खेलमा दुवै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् । खेलको ५ औँ मिनेटमा सङ्कटाका सुवास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिसियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो । ४१ औँ मिनेटमा फोफोना फोडेको हेडर बल गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्किए पनि त्यसलाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।

खेलको १९ औँ मिनेटमा सङ्कटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई पुलिसका सुमन लामाले सदुपयोग गर्न सकेनन् ।

त्यस्तै, २१ औँ मिनेटमा प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेट्न नसक्दा अग्रता बनाउने मौका गुमेको थियो । २५ औँ मिनेटमा रेजिनको प्रहार सङ्कटाका गोलरक्षकले मुस्किलले बचाए । ५९ औँ मिनेटमा रविको प्रहार सङ्कटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए । ६० औँ मिनेटमा सुमन लामालाई फाउल हानेपछि सङ्कटाका क्रिसियनले पहेँलो कार्ड पाए । ७९ औँ मिनेटमा सङ्कटाका दिपेश आले मगरले पहेँलो कार्ड पाए ।

पुलिसका मानबहादुर परियार खेलको म्यान अफ दी म्याच चुनिँदै नगद ११ हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टिम त्रिभुवन आर्मी र रुस्लान थ्रीस्टारबीच प्रतिस्पर्धा हुुँदैछ ।