बेलबारीः मोरङको बेलबारीमा बिहीबारदेखि प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा धनकुटा विजयी भएको छ ।

पाँचथर र धनकुटाबीच भएको खेलमा शून्यका विरुद्ध ३ गोल गर्दै धनकुटा विजयी भएको हो । खेलको २२ औँ मिनेटमा सुनिता तामाङले दिएको पासलाई अञ्जना थुलुङले गोलमा परिणत गरेकी थिइन् । यस्तै ४२ औँ मिनेटमा सन्ध्या रम्तेलले अर्काे गोल गरेकी थिइन् । खेलको अतिरिक्त समयमा विपना राईले एक गोल गर्दै ३–० को नतिजा बनाएकी हुन् ।

खेलको नवौँ मिनेटमा धनकुटाकी अन्जना थुलुङ राईले पाएको पेनाल्टी गोल पोष्ट भन्दा बाहिर थियो । अघिल्लो चरणमा प्रवेश नपाएपछि पाँचथरका खेलाडी घर फर्केका छन् । प्रद्रेश नम्बर १ का तेह्रथुमबाहेकका १३ जिल्लाका टिम सहभागी छन् ।

प्रतियोगिताकोे समापन २५ गते बेलबारी–११ को लक्ष्मी खेल मैदानमा हुने भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, प्रदेश खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतले बोलेका थिए ।