बेलबारीः मोरङको बेलबारीमा जारी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा ओखलढुङ्गाको लज्जास्पद हार भएको छ ।

झापा र ओखलढुङ्गाबीच भएको खेलमा झापाले शून्यका विरुद्ध ८ गोल गरेको छ । झापाकी मीना राईले खेल शुरु भएको ५ औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् । मीनाले गोल गरेको ४ मिनेट बित्न नपाउँदै पूजा खतिवडाले अर्को गोल थपेकी थिइन् । खतिवडाले नवौं र ३७ औं मिनेटमा गोल गरेकी हुन् ।

गंगा राईले खेलको २५ औं र ४९ औं मिनेटमा गोल गरेकी थिइन् । खेलको ५२ औँ मिनेटमा ममता राउतले गोल गरेकी थिइन् भने ५९ औँ मिनेटमा निकिता तिम्सिनाले गोल गरेकी थिइन् । खेलको अन्तिम समयमा ममता राउतले थप १ गोल गर्दै झापाका लागि जम्मा ८ गोल गरेकी थिइन् ।

उदयपुरले पायो वाक ओभर
शुक्रबार नै हुने भनिएको दास्रो खेलमा तेह्रथुमका खेलाडी नआएपछि उदयपुर वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको छ । १९ हिजोदेखि बेलबारीको लक्ष्मीमार्ग खेल मैदानमा शुरु भएको प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।