झापाः मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को उपाधिका लागि आज नेपाल प्रहरीको विभागीय टिम र नेपाल आर्मीको विभागीय टिम भिड्दैछन् । हिजो भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले जीत आफ्नो पक्षमा हुने बताएका छन् ।
त्यसो त आर्मी तेस्रो संस्करणको विजेता पनि हो । मनाङ मस्र्याङदीलाई २—१ गोलको अन्तरले पराजित गर्दै उपाधि आर्मीले उचालेको थियो । आठौँ राष्ट्रिय खेलकुदमा पनि केही हप्ता अघि फाइनलमा भेट हुँदा आर्मीले शून्यका विरुद्ध १ गोल गर्दै नतिजा आफ्नो पोल्टामा लिएको थियो ।
आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदकको साख जोगाउन लागि पनि आर्मी तयार रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । ‘पाएका अवसर सदुपयोग गर्न सक्यौँ भने हामी जित्छौँ,’ प्रशिक्षक न्यौपानेले भने, ‘केही खेलाडीको पनि अनुपस्थितिको महसुश भइरहेको छ । क्वाटर र सेमीफाइनलमा मैदानमा नदेखिएका आर्मीका खेलाडीलाई मैदान उतार्ने छौ, फिजिकल्ली फिट छौ यसकारण पनि निर्धारित समयमैमा हामी गोल गर्नेछौ ।’
क्याप्टेन भरत खवास तथा गोलरक्षक विकेश कुथुलाई मैदान उतार्र्ने दाउमा आर्मी रहेको बताइएको छ । अघिल्ला खेलमा भएका कमजोरीलाई सुधार्दै फाइनल खेल्ने योजना रहेको व्यवस्थापक चुनबहादुर थापाको भनाइ छ । काँकरभिट्टाको मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने उनले दाबी गरे ।
पुलिसका क्याप्टेन भरत साहले आर्मीको प्रस्तुति कमजोर नरहेकाले उनीहरूको खेल शैली हेरेर मैदानमा प्रस्तुत हुने बताए । निर्धारित ९० मिनेटभित्रै स्कोर निकालेर उपाधि उचाल्ने उनको दाबी छ । यसभन्दा अघि फिनिसिङ तथा पासमा देखिएका कमजोरीलाई सच्याउँदै खेल्ने उनले बताए ।