तस्बिरः लक्ष्मण थापा
धरानः बुढासुब्बा गोल्डकपले २० वर्षपछि नाफा कमाएको छ । बुढासुब्बा गोल्डकपको २१ औ संस्करणको आयव्यय सार्वजनिक गर्दै धरान फुटबल क्लबले यस पटक इतिहासमै पहिलो पटक १२ लाख ३४ हजार नाफा कमाएको बताएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार यस वर्ष जम्मा ७९ लाख ४२ हजार ५ सय ७० रुपैया नगद उठेको थियो । त्यसमा ६७ लाख १२ हजार ८ सय खर्च गरेर बाँकी नाफा भएको उनले बताए ।
यस वर्ष फुटबल क्लबले आम्दानी गरेको रकमबाट क्लबले आसरा सुधार केन्द्रलाई २५ हजार र धरानको इलाका प्रहरी भवन निर्माण समितिलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग समेत गरेको छ ।
‘क्लबले अपेक्षाकृत आम्दानी गर्न नसके पनि अहिलेसम्मकै उच्च मुनाफा निकालेको छ’, अध्यक्ष राईले भने, ‘अब हामी खेल र खेलाडीको व्यावसायिकतातिर पनि ध्यान दिनेछौँ ।’ आयव्यय सार्वजनिक समारोहमा प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको पनि उपस्थिति रहेको थियो ।