पथरीः मोरङको अमरदहमा जारी तेस्रो ढल्के जोवन गोल्डकपको दोस्रो दिनको खेलमा उर्लाबारी भेट्रान विजयी भएको छ ।
निर्धारित ७० मिनेटको खेलमा उर्लाबारीले बिर्तामोडलाई पहिलो हाफको २८ औँ मिनेटमा पूर्व राष्ट्रिय टोलीका क्याप्टेन तथा उर्लाबारी टिमका क्याप्टेन अनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दबाबमा देखिएको बिर्तामोडले भने पहिलो हाफमा कुनै पनि गोल गर्न सकेन । बिर्तामोडका सामु निकै नै उतकृष्ट खेल पस्केको उर्लाबारी भेट्रानले दोस्रो हाफको १९ औं मिनेटमा बुद्घ चेम्जोङले अर्काे गोल गर्दै २–० को अग्रता दिलाए ।
२४ औँ मिनेटमा उर्लाबारी भेट्रानका लागि अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ३–० को अग्रता कायम गर्न सफल भए ।
खेलको ३३ औं मिनेटमा उर्लाबारीका लागि विक्रम लिम्बूले गोल गरेपछि खेलमा ४–० को फराकिलो अन्तर कायम हुन आयो । विक्रमको गोल नै अन्तिम गोलका रूपमा रह्यो भने उर्लाबारीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
आइतबारको खेलको म्यान अफ द म्याच उर्लाबारीका टिम क्याप्टेन अनिल गुरुङ घोषित हुँदै नगद २ हजार र मेडल हात पारे ।
सोमवारको खेल विराटनगरको विराट स्पोर्टस एकेडेमी र पूर्वाञ्चल भेट्रान दमक झापाका बीचमा हुने आयोजकले बताएको छ ।
३० वर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छ ।