धरानः विद्यालय स्तरबाट नै बास्केटबल खेलाडी उत्पादन तथा विकासको लागि धरान बास्केटबल सङ्घको आयोजना, जिल्ला बास्केटबल सङ्घ सुनसरीको सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा चौथो ट्यालेन्ट हन्ट बास्केटवल प्रशिक्षण क्याम्प आइतवार शुरु भएको छ ।

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजित ट्यालेन्ट हन्ट कार्यक्रममा धरानभरका ४१ जना विद्यार्थी सहभागी थिए । क्याम्पमा सहभागी उत्कृष्ट डेढ दर्जन विद्यार्थीलाई एम्स एकेडेमी, डिपो क्याम्पस, धरान आदर्श, युरेका स्कुललगायतका विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि बास्केटबल संघले अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सङ्घले गत साल पनि तेस्रो ट्यालेन्ट हन्ट कार्यक्रमका उत्कृष्ट एक दर्जन खेलाडीलाई निःशुल्क अध्ययनको लागि अवसर प्रदान गरिसकेको छ ।

खेलको विकास र खेलाडीको उत्पादन गर्ने उद्देश्यले ट्यालेन्ट हन्टको आयोजना गरिएको हुनाले एसईई दिएर बसेका विद्यार्थीबाहेकले पनि क्याम्पमा सहभागी जनाउन पाउने जिल्ला बास्केटबल सङ्घ सुनसरीका अधयक्ष नारायण सुवेदीले बताए ।

धरान नगर खेलकुद विकास समितिले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने योजना रहेको बताउँदै यो वर्ष धरानका ४ वटा विद्यालयमा भलिबल, ब्याडमिन्टन, सेपाकटेक्रो खेल समेत खेल्न मिल्ने गरी कोर्ट निर्माण गर्ने कार्य भइरहेको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर खेलकुद विकास समिति अध्यक्ष सुवास राईले जनाए । वास्केटबल सङ्घसँग सहकार्य गरेर चाँडै राष्ट्रिय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने तयारी समेत भइरहेको राईले जनाए ।

सहभागीलाई उनिहरूको खेलको स्तर हेरी दुई समूहमा विभाजित गरी प्रशिक्षण दिइने छ । विकास चाम्लिङ राई, हेमन्त राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन नवीन राई, भोजराज लिम्बू, चिरन्जीवि गिरी, सिर्जन आचार्य, सुजन राई, शिशिर पोख्रेललगायतले प्रशिक्षण दिने भएका छन् ।