बेलबारीः मोरङको बेलबारीमा जारी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमीफाइनलमा मोरङ, झापा, उदयपुर र ताप्लेजुङ प्रवेश गेरका छन् ।
सोमबार मोरङको लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा उदयपुरले इलामलाई १ का विरुद्ध २ गोल अन्तरले हराएको थियो । उदयपुरकी मनिका राईले खेलको ३८ औँ मिनेटमा इलामको पोष्टमा पहिलो गोल गरेकी थिइन् । ४५ औं मिनेटमा युमा लुङमा राईले पुनः १ गोल थपेकी थिइन् । उनले गरेको गोल नै उदयपुरका लागि निर्णायक गोल बन्यो ।
इलामका लागि संरचना प्रधानले खेलको ४५ औँ मिनेटमा १ गोल गरिन् । इलामको यात्रा क्वाटर फाइनलबाट टुङ्गिएको छ । तेह्रथुमका खेलाडी नआएपछि उदयपुर वाक ओभर पाएर क्वाटर फाइनलमा प्रवेश गरेको थियो । इलामले भने सोलुखुम्बुलाई हराएको थियो ।
मङ्गलबार हुने सेमीफाइनलमा भने मोरङ, उदयपुर तथा ताप्लेजुङ र झापाबीच खेल हुने व्यवस्थापक सुजय गौतमले बताए । ताप्लेजुङले भोजपुरलाई १ गोल गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । मोरङले धनकुटामाथि २ गोल गर्दै यात्रा तय गरेको थियो । बेलबारीको लक्ष्मीमार्ग खेल मैदानमा शुरु भएको प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।