धनकुटा: शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको १४ औं संस्करण आगामी वैशाख २८ गतेदेखि धनकुटामा सञ्चालन हुने भएको छ ।
आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आयोजक धनकुटा ११ सहित क्यामरुनी टोली दाउफिन्स क्लब, ए डिभिजनको सशस्त्र प्रहरी क्लब (एपिएफ), फ्रेन्ड्स क्लब, झापाको बिर्तामोड युनाइटेड क्लब सहभागी हुनेछन् । त्यस्तै, मोरङको विन्दाबासिनी फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब पनि सहभागी हुने भएका छन् । नेपाल पुलिस क्लब र च्यासल क्लबमध्ये एउटा टोली गरी ८ टिमको सहभागिता रहने संयोजक शम्भु प्रधानले जानकारी दिए ।
प्रतियोगिताका विजेताललाई ४ लाख र ट्रफी तथा उपविजेताले २ लाख र ट्रफी पाउने भएका छन् । गत संस्करणभन्दा यो संस्करणमा पुरस्कार राशीमा वृद्धि गरिएको हो । १२ औ संस्करणका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार पुरस्कार दिइएकोमा १३ औँ संस्करणमा क्रमश १ लाख र ५० हजार मात्र दिइएको थियो ।
तल्लो टुँडिखेलमा रहेको खेलमैदान स्तरोन्नति तथा पक्की प्यारापिट निर्माण गर्न केही समय लागेका कारण गत वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । १३ औं संस्करणको उपाधी काठमाडौंको ब्वाइज युनियन क्लबले जितेको थियो ।
यसपटक प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ । हरेक खेलमा म्यान अफ दी म्याचको लागि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक रुस्लान भोड्का रहेको प्रतियोगिताको सहप्रायोजकमा जगदम्बा स्टिल, निगाले सिमेन्ट, सल्भ नेपाल, अजाबको आइसक्रिम रहेका छन् । जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले जनाए । त्यस्तै, धनकुटा नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
प्रतियोगिता सञ्चालन गर्न मञ्च व्यवस्थापन, फिल्ड व्यवस्थापन, टिम व्यवस्थापन, स्वयम्सेवक परिचालन लगायत विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिता नेपाली काङ्ग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापना गरिएको थियो ।
विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । श्रेष्ठलाई गत वर्ष सरकारले शहीद घोषणा गरेको थियो ।