धरानः धरान बास्केटवल सङ्घको अयोजनामा भएको प्रथम महिला बास्केटबल प्रतियोगिताको उपाधि इमोर्टल्स क्लब धरान १५ ले चुमेको छ ।
बुधबार भएको खेलमा इमोर्टल्सले डिपो कलेजलाई ४८–२५ अङ्कको अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । राष्ट्रिय खेलाडी सम्मिलित इमोर्टल्सले डिपो कलेजमाथि पहिलो, दोस्रो र तेस्रो क्वाटरमा १२–४, १४–८ र १७–४ अङ्कले अग्रता लिएको थियो भने अन्तिम क्वाटरमा डिपो कलेजले ५–९ अङ्ककोे अग्रता लिएको थियो ।
विजेता टिमले नगद १० हजार, उपविजेता टिमले नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको मस्ट भ्यालुएबल पुरस्कार इमोर्टल्सकी अनुसा मल्ल ठकुरी घोषित भइन् । उनले नगद २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
फाइनल खेलको प्लेयर अफ द म्याच उपाधि डिपो कलेजकी डा. आशा राई र उदीयमान खेलाडीको उपाधि डिपो कलेजकी प्रीति राईले पाए । उनीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपाधि विजेतालाई कार्यक्रमका अध्यक्ष नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष सुरजकुमार लामा, प्रमुख अतिथि धरान–१८ का वडाध्यक्ष प्रवीण राईले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै, झुनाज फिटनेसका प्रोप्राइटर झुना राई, पूर्व बास्केटबल खेलाडी सुजनमान श्रेष्ठ, डिपो क्याम्पसका प्रमुख राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका विशेष अतिथि जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताए ।
प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजन रहेको थियो । धरान–१८ स्थित डिपो कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरानका ८ वटा कलेज, विद्यालय र क्लब सहभागी थिए ।