इटहरी / केही दिनपछि रसियामा हुने विश्वकप फुटबल प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यका साथ इटहरीको पशुपति बोर्डिङ स्कुलले फुटबलमैत्री शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
अतिरिक्त क्रियाकलापअन्तर्गत बहुुप्रतिक्षित विश्वकप खेलका बारेमा विभिन्न विधाको जानकारी विद्यालयले प्रदान गरेको हो ।
विद्यालयले पठनपाठन तथा अन्य क्रियाकलापमा विद्यार्थीलाई विश्वकपको बारेमा जानकारी गराउने छ । विश्वकपमा सहभागी हुने राष्ट्र र झण्डाको पहिचान गराउने र विश्वकपसम्बन्धी विभिन्न जानकारी विद्यार्थीलाई गराइने विद्यालयका प्रिन्सिपल सुमित थापाले बताए ।
विश्वकपमा विभिन्न राष्ट्रले पाएको उपाधीको बारेमा तथा विश्वस्तरीय खेलाडीको जानकारीसमेत विद्यालयको प्रार्थनामा र कक्षामा दिइने थापाले बताए । उनले लोकप्रिय फुुटबल खेलको महाकुम्भ अब ४ वर्षपछि मात्र हुने भएकाले अबको १ महिना विद्यालय फुुटबलमैत्री हुने बताए ।
‘हामीले विद्यालयमा विद्यालय पोसाक अनिवार्य गरेका छैनौँ’, प्रिन्सिपल थापाले भने, ‘विद्यार्थीलाई जुन देशको जर्सी मन पर्छ त्यही लगाउन पाउँछन् ।’ खेलप्रति विद्यार्थीको लगाव बढाउन पनि विद्यालयलाई विश्वकपमैत्री बनाउन लागिएको उनको तर्क छ ।
थापाले भने, ‘विश्वकपप्रति सबै उमेर समूहका मानिसको आस्था रहेको छ । सबैले आआफ्नो टिमको बारेमा सपोर्ट गर्ने र रमाइलो गर्ने मौका दिनुुपर्छ ।’
विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अाफ्नाे इच्छाअनुसारको देशको जर्सीसमेत उपलब्ध गराएको छ । विद्यालय परिसरभित्र विश्वकपमा सहभागी विभिन्न मुलुकका झण्डासमेत राखिएको छ ।