ताप्लेजुङः ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । साविक विजेता पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीमाथि २५–१७, २५–१३ र २५–१९ को जीत निकाल्यो । खेलको शुरुदेखि नै खेलमा पुलिस हाबी भएको थियो । उत्कृष्ट ब्लकिङ गरेकै कारण आर्मीलाई हराउन सहज बनेको पुलिस क्लबका प्रशिक्षक सरोज श्रेष्ठले बताए ।
इम रानाको कप्तानीमा मैदानमा उत्रिएको पुलिसले उपाधिसँगै नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । यसैगरी, सेमीफाइनलमा पुग्न सफल एपीएफ र गण्डकी प्रदेशले ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे ।
विधागततर्फ पनि पुलिसकै खेलाडीको वर्चश्व रह्यो । बेष्ट प्लेयर पुलिसका कुलबहादुर थापाले नगद १५ हजार प्राप्त गरे । बेष्ट सर्भर पुलिसका विशाल बिक, बेष्ट सटर पुलिसका इमबहादुर रानामगर, बेष्ट ब्लकर पुलिसकै दीपकराज जोशी, बेष्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, बेष्ट डिफेन्डर पुलिसका भीम गाहामगर र उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए । सबैले जनही नगद ७ हजार प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेतालाई प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ, टंक आङ्बुहाङ र होमकुमारी साँवा लिम्बूले संयुक्त रूपमा पुरस्कार प्रदान गरे । पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित बैशाख २२ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।
प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र विश्वविद्यालय क्वाटरफाइनलमै पराजित भएका थिए ।