उर्लाबारी:मोरङको उर्लाबारी–८ अँठियाबारीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा २७ औं अभिभावक दिवस सम्पन्न भएको छ ।

बिहीबार उर्लाबारी नगरपालिकाकी उपमयेर लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज धिमालको सभापतित्वमा भएको थियो । उपमेयर भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएको बताइन् । शिक्षालाई गुणस्तर र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि नगरपालिका लागि परेको उल्लेख गरिन् ।

कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले बोल्दै सामुदायिक विद्यालयको गुणस्तरवृद्धिमा जोड दिए ।

बैशाख २४ गतेबाट शुरु भएको उक्त कार्यक्रममा छात्र÷छात्रा दुवैतर्फको भलिबल प्रतियोगितामा राधिका मावि उर्लाबारीले उपाधि जितेको थियो । छात्र÷छात्रा दुवैमा लक्ष्मी मावि उर्लाबारी दोस्रो भएको थियो । त्यस्तै, हाजिरीजवाफमा राधिका मावि पहिलो, लक्ष्मी मावि दोस्रो र शारदा मावि तेस्रो भएका थिए । नृत्यमा राधिका मावि पहिलो, सार्वजनिक मावि दोस्रो र लक्ष्मी मावि तेस्रो भएका थिए ।

सो खेलकुद प्रतियोगितामा उर्लाबारी नगरपालिकाका सामुदायिक विद्यालयको सहभागिता रहेको शिक्षक माइकल राउतले जानकारी दिए । त्यस्तै, सोही अवसरमा आयोजित सितोरिया कराते प्रतियोगितामा २० देखि २५ केजी समूहमा छात्रातर्फ सिर्जना माविकी निसम गुरुङ पहिलो र लक्ष्मी माविकी सुवणी मगर दोस्रो भए । सोही समूहको छात्रतर्फ लक्ष्मीका वुजन चाहार पहिलो र लक्ष्मीकै सन्दीप धिमाल दोस्रो भए ।

त्यस्तै, २५ देखि ३० केजी तौलसमूहमा छात्रतर्फ राधिका माविका सविन तामाङ पहिलो र सिर्जनाका अस्मिन राई दोस्रो भएको उर्लाबारी सितोरियो करातेका मुख्य प्रशिक्षक मानबहादुर थोप्राले जानकारी दिए ।

त्यस्तै, ३० देखि ३५ केजी तौल समूहमा राधिका मावि उर्लाबारी–७ का विप्लव कार्की पहिलो र राधिका मावि उर्लाबारी–६ का सौगात राई दोस्रो भए । ५० केजी तौल समूहमा लक्ष्मीका सुमन ढकाल पहिलो र राधिका उर्लाबारी–६ का उत्तम श्रेष्ठ दोस्रो भए । उर्लाबारी नगरपालिका वडा नं. ८ को सहयोगमा उक्त खेल भएको प्रशिक्षक थोप्राले बताए । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको शिक्षक राजेश खतिवडाले जानकारी दिए ।

हाल विद्यालयमा ३ सय ७० जना विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक रामबहादुर थापाले बताए । अल्पसङ्ख्यक धिमाल समुदायको बढी बसोबास रहेको क्षेत्रमा सो विद्यालय रहेको छ ।