बेलबारीः बैशाख ३० गतेदेखि मोरङको बेलबारीमा मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । पहिलो चरणमा वडास्तरीय मेयर कप सञ्चालन गरिने मेयर कप आयोजक समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

‘पहिलो चरणमा वडास्तरीय फुटबल प्रतियोगिता गर्न लागेका छौँ’, आयोजक समितिका अध्यक्ष हेमकुमार गुरुङ (गजेन) ले भने, ‘दोस्रो चरणमा अन्तरपालिकास्तरीय गर्छाँै ।’ बैशाख ३० गतेदेखि जेठ ७ गतेसम्म पहिलो चरणको प्रतियोगिता हुने उनले बताए ।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गर्न लागिएको हो । वडास्तरीय प्रतियोगिता सञ्चालन गर्नका लागि ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १ हजार ५ सय, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र बढी गोल गर्ने खेलाडीलाई जनही नगद ५ हजार दिइने राईले बताए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार दिइनेसमेत उनले बताए । पहिलो चरणमा खेलाडीहरूलाई प्रोत्साहन गर्न वडामा जर्सी तथा २ वटा फुटबल पठाइसकिएको आयोजकले जनाएको छ । दोस्रो चरणमा हुने अन्तरपालिकास्तरीय प्रतियोगिताको मिति भने तय भइनसकेको जनाइएको छ ।

मेयर कप सञ्चालन गर्न ११ सदस्यीय मेयर कप आयोजक समिति यसअघि नै निर्माण भइसकेको छ । बेलबारीमा गत वर्ष समेत मेयर कप सञ्चालन भइसकेको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप सञ्चालन गर्न लागिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।