पथरीः मोरङको सुनवर्षी–२ अमरदहमा जारी प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा उर्लाबारीले विजयी शुरुवात गरेको छ ।

पूर्व राष्ट्रिय टोलीका टिम क्याप्टेन अनिल गुरुङको कप्तानीमा रहेको उर्लाबारी भेट्रानले सङ्खुवासभा भेट्रानलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ७० मिनेटको खेलमा अधिकांश समय उर्लाबारीले बल आफ्नो पक्षमा राखेको थियो ।

खेल शुरु भएको पहिलो हाफको १० औँ मिनेटमा उर्लाबारीका टङ्क लामाको गोलबाट टिमले अग्रता लिएको थियो । बुद्धराज चेमजोङले खेलको २५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यसको १ मिनेट बित्न नपाउँदै कप्तान अनिल गुरुङले टिमको लागि हेडमार्फत् तेस्रो गोल गरे । अतिरिक्त समयमा सङ्खुवासभाका दिलबहादुर लिम्बूले डिबक्सभित्र फल गरेर रातो कार्ड प्राप्त गरे ।

त्यसपछि उर्लाबारीले पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे । सङ्खुवासभाको लागि भने दोस्रो हाफको २६ औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका दीपक राईले सान्त्वना गोल फर्काएका थिए ।

खेलको उत्कृष्ट खेलाडी उर्लाबारी भेट्रानका बुद्धराज चेम्जोङ घोषित हुँदै नगद २ हजार रुपैयाँ र मेडल हात पारे । सोमबारको क्वाटरफाइनल खेल तेह्रथुम भेट्रान र सशस्त्र प्रहरी बल पकलीबीच हुने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगिताको फाइनल जेठ ७ गते हुनेछ ।

३० वर्ष नाघेका १ नं. प्रदेशका भेट्रान खेलाडी सहभागी भएको १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त पार्नेछ । उपविजेताले १ लाख ५१ हजार पाउने आयोजकले जनाएको छ ।