पथरीः मोरङको सुनवर्षी–२ अमरदहमा जारी प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा सशस्त्र पकली भेट्रान विजयी भएको छ ।

सशस्त्र पकली भेट्रानले तेह्रथुम भेट्रानलाई ६–२ गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित ७० मिनेटको खेलमा अधिकांश समय सशस्त्र पकली भेट्रानले बल आफ्नो पक्षमा राखेको थियो ।

खेल शुरु भएको पहिलो हाफको १० औँ मिनेटमा सशस्त्र पकली भेट्रानका विनोद लोप्चनको गोलबाट टिमले अग्रता लिएको थियो । भने पकलीकै टीकाराम बिकले खेलको १६ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

टीकारामले नै खेलको २६ औँ, ४० औं र ४३ औ मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गोल गर्न सफल भए ।
सशस्त्र पकली भेट्रानलाई जीत दिलाउने क्रममा खेलको २६ औँ मिनेटमा दीपक पौडेल र अतिरिक्त समयमा सशस्त्रका उत्तम कार्कीले गोल गरेका थिए ।

तेह्रथुमका लागि भने खेलको ३० औँ र ३५ आँै मिनेटमा वसन्त लिम्बूले गोल गरेका थिए । अन्य खेलाडीले गोलको खाता खोल्न नसक्दा तेह्रथुम हार बेहोर्दै घर फर्किन बाध्य भएको हो ।

सोमबारको खेलको उत्कृष्ट खेलाडी सशस्त्र पकली भेट्रानका टीकाराम बिक घोषित हुँदै नगद २ हजार र मेडल हात पारे ।मङ्गलबारको तेस्रो क्वाटरफाइनल खेल विराटचोक भेट्रान र दमकका बीच हुने आयोजक क्लवका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगिताको फाइनल जेठ ७ गते हुनेछ ।

३० वर्ष नाघेका १ नं. प्रदेशका भेट्रान खेलाडीको १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उप विजेताले १ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ ।