इनरुवा: सुनसरीको सदरमुकाम इनरुवामा जेठ ३ गतेबाट दोस्रो एसपीएल क्रिकेट हुने भएको छ । क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुनसरी युथ क्लबले जनाएको छ ।

नेपालका ३ र भारतका ३ गरी ६ वटा त्रिकेट टिमको सहभागितामा हुने इन्डो नेपाल क्रिकेटको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले जानकारी दिए ।

हुसेनका अनुसार प्रतियोगितामा नेपालका धनगढी, मोरङ र सुनसरी तथा भारतको पटना, सुपौल र मुजफ्रपुरका गरी ६ वटा त्रिकेट टिमको सहभागिता रहने छ । खेलमा उपाधी जित्नेलाई १ लाख ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

आयोजकले नेपालमै पहिलो पटक सुनसरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता डे तथा नाइट र टी १० मा नेपाल र भारतका खेलाडी बीचमा खेलाउन लागेको जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडी र भारतका नाम चलेका खेलाडी सहभागी हुने आयोजकको भनाइ छ ।

उद्घाटन खेलमा प्रदेश १ र २ बीच टी २० मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने आयोजकले जनाएको छ । नेपालका महिला टिमकी क्याप्टेन रुविना क्षेत्री, सस्वती चौधरीले पनि खेल प्रदर्शन गर्ने आयोजकको भनाइ छ ।